ठाउँ–ठाउँमा पिच भत्किएको नागबेली सडक बेबारिसे अवस्थामा फालिएको मैलो र झुत्रो पटुकाजस्तै देखिन्छ । सडक छेउबाट सेती नदीको सुसेली प्रष्ट सुुनिन्छ । शीतल हावाको झोँक्कासँगै मौसमी तातोपनको हपहपी केही कम भएको महशुस हुन्छ ।
साँझको बेला थियो क्यार, एउटा खैरो रङको माइक्रोबस अनियन्त्रित गतिमा पूर्वतिर हुइंकियो । सुनसान सडक छेउको आकाश धुलाम्य भयो । धूलोको बाक्लो पर्दाभित्र सन्नाटा चिर्दै मानव पीडाको अनौठो चित्कार सुनियो । पक्कै त्यो सडक किनारमा केही गडबड भएको हुनुपर्छ । ऊ साँझ–बिहान हिँड्ने सडक छेउमै यो घटना भएको थियो ।
समयले उसलाई नबुझेको हो कि उसले समयलाई नबुझेको हो ,अहिल्यै निर्णय दिन सक्नेस्थिति देखिदैन । उसलाई सामान्यरुपमा चिन्नेहरु यही कुरा बारम्बार दोहो¥याउँछन् । तर समयले कसैलाई चिन्ने कुरा त हुँदै भएन । आफूले पो समयलाई चिन्ने हो । यो कुरा उसले नबुझेको पनि होइन, किनकी समयको अग्रगामी गतिमा मानिसले आफूलाई गतिलैसँग ढाल्नुपर्छ भन्ने पाठ उसले धेरैलाई पढाइ सकेको छ । नत्र जीवन र जगतको परिवर्तन असम्भव भन्ने सत्य पनि उसले धेरैलाई बुझाइ सकेको हो । तर आफू स्वयम् समयको चक्रव्यूहमा फँसेको कुरा भने उसले पत्तो पाउन सकेन । यो नै उसको ठूलो कमजोरी थियो कि….।
अर्कोतिर अस्तव्यस्त कपाल,खुम्चिएको निधार,घामछाया प्रतिबिम्बत् भै रहने अुनहार, सरल पहिरन, अलमलिएका आँखामाथि सानो पावर चस्मा, खुट्टामा सस्ता चप्पल, एक नासको सुस्त हिँडाइ, नरम बोली र प्राय विचारमग्न देखिने उसको सामान्य परिचय हो । साथै उसलाई ज्यादै नजिकबाट नियाल्ने र चिन्नेहरु भने उत्तिकै सहृदयी व्यक्तित्व मान्थे ।
उसको जीवनका भोगाइहरु सुन्दै जाँदा कोमल फूलदेखि तिखो काँडासम्मको सङ्गत व्यहोरेको मान्छे हो ऊ । फूलहरुबाट फल लाग्न थालेपछि उसलाई छायामुनि बस्न दिन पनि हिचकिचाए कोही । काँडाको कुरा त झन बेग्लै भो । नियतिले ठगिएको मान्छे भनी कुरा काट्छन् कोही । जसले जे गरे पनि जे भने उति प्रवाह नराख्ने उसको बानी जमाना अनुसार अनौठै लाग्छ । आफू तल झरेर भए पनि उसले साथीहरुलाई भ¥याङमाथि चढाएकै हुन् । भ¥याङ चढ्नेहरु माथि पुगेपछि उसलाई तल फर्केर पनि हेरेनन् ।
दिन जान्ने तर लिन नजान्ने कसीमा दाँजेर हेर्दा उसबाट धेरैले केही न केही त लिएको हुनुपर्छ , पाएकै हुनुपर्छ । जो–जो उसको सङ्गतमा परेका छन् । कतिले सक्दा दाम , माम र ठाम अनि नसक्दा भौतिक र नैतिक गुहारसमेत उसबाट पाएकै हो । तर उसले आजसम्म तिनीहरुबाट के कति पायो त भन्ने सहज प्रश्न अनुत्तरित नै छ ।
उसको स्वभाविक सरलपनबाट धेरै ठाउँमा धेरै पटक उसले चक्कर र ठक्कर नपाएको पनि होइन, तर ऊ नैतिकता बन्धक राखेर खुम्चन र बढ्न चाहेन । कसैको खुट्टा तान्ने प्रवृत्ति उसमा कहिल्यै देखिएन,कहिल्यै पलाएन पनि । ऊ आफूमाथिको आकाश सँधै स्वच्छ र सफा देख्न चाहन्थ्यो । साथीहरुको सर्कलमा ऊ अरु साथीहरुलाई पनि आफूजस्तै ठान्थ्यो । यहाँ उसको सन्दर्भमा सायद नैतिकताले पनि गुण–दोष खुट्याउन जाँगर नचलाएको हो कि… ।
मानौँ समयको परिबन्दबाट उम्कन नसकेको दिन, महिना र सालजस्तै दोहरिने उसको मनोदशा सजिलै उसको अनुहारमा पढ्न सकिन्थ्यो । यसरी बारम्बार दोहरिने उसको पीडा लुकाउन खोज्दा–खोज्दै पनि प्रकट हुन पुग्थ्यो ।
“बहुजन हिताय” मा जीवनका दुईतिहाई समय समपर्ण गरेको उसले आफ्नो घरपरिवार सुधार्नसमेत भ्याएन । व्यक्तिगत स्वार्थले बास नपाएको ठाउँमा त्यो अवसर दुर्लभ बन्दोरहेछ । स्वर्णिम सपना बोकी समाजमा आमूलपरिवर्तन खातिर हिजो बुर्जुवा शिक्षा बहिस्कारको नारा लिएर हिँड्नेहरुमा ऊ पहिलो समूहकै हो । बिसौँ बर्ष मानसिक श्रममा काम गरेपछि पनि उसले अझै विचारको हलो जोत्न छोडेको छैन । कति अँध्यारामा बाँचेकाहरुलाई आँखा देखायो, उज्जवल भविष्यको बाटो टेकायो । यसरी कतिलाई मलमपट्टि लगायो तर घाउ निको हुँदै गएपछि प्रायले बिर्से उसलाई । कुवाको पानी त धेरैले खान्छन् ,तर कुवा खन्नेलाई कसैले सम्झदैनन् भनेजस्तै भयो उसको निम्ति ।
उसले गोरेटोलाई बाटो बनाउँदै गयो ,त्यही बाटो भएर कति आफ्नो गन्तव्यसम्म पुगे । तर ऊ अझै पनि बाटो मै भेटिन्छ । बाटो बिराएको यात्री त ऊ पक्कै होइन । थाकेर बसेको पथिक पनि होइन । लाग्छ समयसँग ठगिने व्यक्तिमध्ये राशीफलमा उसको नाम कहिल्यै नछुटेको होस् ।
उसलाई चिन्ने र चिनाउने सङ्घ–संस्था एवं व्यक्तिहरु पनि गजब कै मान्नुपर्छ । चाहिँदाको भाँडो नचाहिँदाको ठाँडो भने झैँ ठूलो पार्टीको सभा–सम्मेलनमा मन्त्री आउँदा उसलाई त्यति वास्ता गरिदैन । कतै आन्दोलनमा जानु परे निम्तो छुट्दैन । अग्रपङ्ितमा नै उसको सहभागिता देखिन्छ । छिमेकीहरु छोराको बिहेमा जानी–जानी उसलाई निम्तो छुटाए पनि छोरीको बिहेमा भने बिर्सेर पनि छुटाउँदैनन् ।
हिजोका दिनमा पुलिसका बुट,लाठा र कालकोठरीको बासले उसलाई स्वागत नगरेको पनि होइन । विचारको हत्या गर्न तम्सनेहरु भने ऊबाट सधैँ निराश हुन पुग्थे । दमनकारी पञ्चायती शासनकाल र शाही सङ्कटकालमा सबभन्दा सताइका व्यक्तिको सूचीमा उसको नाम सिरानतिरै आउँछ । तर यसलाई गर्वको बिषय बनाएर गणतन्त्रमा व्याज खाने दाउ उसमा कहिल्यै आएन ।
मानिसले सपना देख्नुपर्छ । सपना देख्न छोड्नु भनेको निराशाको पराकाष्ठा हो । मृत्युले मात्र सपना देख्दैन । यसरी आशावादी भएर क्रियाशील जीवन बाँच्नुपर्छ भन्ने मान्यताबाट ऊ कहिल्यै पछि हटेको देखिदैन । ऊ सगरमाथाजस्तै ग¥हुङ्गो मृत्युको मान्यता बोक्ने विचारशील मान्छे हो । आफ्ना दुखहरु बिर्सेर जनता र देशको निम्ति खट्ने ऊ जस्तै मान्छे अहिले कमै भेटिन्छ ।
उसको अर्को पहिचान खोतल्दा ऊ साहित्यक व्यक्तित्व पनि हो । ऊ विद्यालय पढ्दादेखि नै साहित्यमा रुचि राख्दो रैछ भन्ने कुरा उसका प्रकाशित पुस्तकहरु र रचनाहरुबाट थाहा पाइन्छ । ऊ सुत्ने कोठाको भित्तामा झुड्याइएका झन्डै दुई दर्जन प्रमाणपत्रहरुले पनि यसको थप पुष्टि गराउँछ । अहिले मोफसलमा बसेर पनि साहित्यिक गतिविधिमा ऊ क्रियाशील छ , साधनारत छ । उसका कृतिहरु अनुभवका भण्डारजस्तै लाग्छन् ।
जीवनलाई बगी रहने नदीसँग तुलना गर्दै कहिले काहीँ ऊ आफै भावनामा बग्न थाल्छ । त्यही भावको प्रतिनिधित्व गर्ने उसको सुस्केरामा जीवनको कथा–व्यथा पढ्न पाइन्छ ।
एकसाँझ नदी किनारको सडक छेउ बसी सुनौलो आकाशमाथि चराहरु चिरविराउँदै बासस्थानतिर हतारिदै उडेको रमणीय दृश्य हेर्दै ऊ अनायस प्रकृतिमा रमाउन खोज्छ ,तर एउटा विद्युतगतिको परिघटनाले उसको क्षणिक खुशी भताभुङ्ग हुन पुग्छ ।
रगतका छिटाहरु यत्रतत्र फैलिएका छन् । मानिसहरु उसको वरिपरि झुम्मिहाले । अनि कोही सुँकसँुकाउदै छन् ,कोही भक्कानिदै छन् , “बिचरा !…….. ” समवेदनाका शव्दहरु नै बढी सुनिएका छन् । माहौल शोकमय छ । सधँै सबैको सरल उत्तर दिने ऊ निरुत्तर जमिनमा ढलेको छ ।
सबैतिर शून्यता छ, मौनता छ तर त्यहाँ ऊ कस्को मान्छे भन्दा पनि ऊ कस्तो मान्छे भन्ने प्रश्नले आकार लिदैँ थियो ।
टाढाबाट साइरन बजेको आवाज नजिकिदै छ । एम्बुलेन्सले उसलाई हतार–हतार अस्पतालतिर दौडायो । घाम बिस्तारै पश्चिमतिर सर्दै रातलाई डाकी सकेको छ । हिमाल पनि बादलले छोपिएको छ । उपस्थित मानिसहरु अनेक सम्भावनाका कुरा गर्दै विस्तारै लाखापाखा लागे ।