कुमारगढीबाट पैदल चेपालगाउँ पुग्दा पौनेसात बजिसकेछ । हेर्छु –टमाटरको पेटी तयार पारिरहेका टमाटरवाला गोर्खालीहरु हेर्दाहेर्दै कमिला प्वालमा छिरेझैं छाप्राभित्र छिर्न थाले । र, केहीछिनमै स्टोभ बज्न थाल्छ ।
भारतका टमाटर खेती हुने नाउँ चलेका ठाउँमध्ये एक हो –कुमारगढी । यो क्षेत्रमा रोल्पारुकुमतिरका टमाटरवाला बाक्लै छन् ।
तर कसको डेरा कहाँनेर ? पत्ता लाउन एकमदम मुश्किल । गोर्खालीका छाप्रा सर्नु बिरालोले पाठा सार्नुजस्तै हो ।
माया नमारी सोधिरहेछु, ‘घरको नौ(नाउँ) आइते, कालापारे नौ दि(कुन्नि) के राख्या’छन् ? फुपूफ्वाजु हुन्, घर रुकुमको चुनवाङ र माइत रोल्पाको राङ्कोट ।’
‘अच्चली(असाध्यै) अर्जेन्टी परेर, कारगीलबाट आएँ । ‘शिमलामा छन्’ भन्ने चिठी आएकाले शिमला गएँ । ‘सोलनमा प छन्’ भन्ने थाहा पाएपछि …। बिखर्ची भै’गेँ ।’
कालापार जानेबित्तिकै आफ्नो ‘मनको नाउँ’ राख्ने यी कालापारे पानीपधेंरा हुन्, भारतका कुनाकाप्चा । आङमा टालो हाल्न, चुलोमा आगो बाल्न, रुँदा पनि हाँस्दा पनि ‘घर–कालापार र कालापार–घर’ भन्नु र ‘हाट झर्नु’ साँझविहान उकालीओराली गरेजस्तै हो, रुकुमेरोल्पालीका ।
छाप्रा नबिराइकन सोध्न थाल्छु ।
‘उतातिरका ता उः पारिका छाप्रामा छन्’ भन्ने आशयसहित बिडीको लामो सर्कोसित ‘खास्सा नेपाली’ले ‘खास्सा हिन्दी’मा भन्छ ।
‘नेपालीलाई किन सारो देशीबातलाई पिरेम गरेको !’ हिन्दीनेपाली गल्मतेमा आफैलाई सोधी उसैले भनेतिर लाग्छु ।
सायदै तीसौं छाप्रो । गुनगुन आवाज ।
‘भित्र को छ ?’ छाप्राबाहिरैबाट प्रश्न भित्र पठाउँछु, ‘फुपू पेउली र फ्वाजु आइते, टमाटर लाउँछन् । कालापारे नौ था’छैन ।’ एकैसासमा एकैपालि छाप्रोभित्र हुत्याउँछु, ‘उतिसारो होचा नाई अग्ला नि नाई, दुईजामी(जोईपोइ) नै कल्साउँराकल्साउँरा(गहुँगोरो) छन् ।’
‘रुरु(रोहडू) गै’गे ।’ भित्रबाट जबाफ आयो ।
अब त नजिकैको मान्छे पनि ठम्याउन नसकिने भइसकेछ ।
‘बास ?’
एकमनले भन्छु, ‘जे पर्ला, यतै माग्छु,, एकरातको बास, कसो नदेलान् ?’
‘भित्रै जाने रे ।’ खरायो दुलोबाट निस्केझै गरी छाप्रोबाट निस्केर फुच्ची, बोली झरिनसक्दै भित्र पसी ।
‘पाइने भो’ ठानेर गाभिनो भैसीलेजस्तै सास फालेँ, सन्तोषको ।
छिर्छु –टुकी बलेको छ ।
चुलोनजिक चकट्टी दिदै ‘यतै बस्नुस्’ भनी के हेरेकी थिई, बाघसितको जम्काभेटमाझै हेराहेर भए –हाम्रा आँखा ।
केही समयपछि हेर्छु –टुकीको उज्यालोमा उसको अनुहारमा खलखलि पसिना आएको छ ।
ओठ पनि खुलेका खुल्यै ।
धेरैबेरपछि । नजर उठाएर आलु काट्न थालेको थालमा लग्छे ।
आगो बलिरहेको चुलोमा एकगाग्रो पानी खन्याएजस्तै सन्नाटा छाउँछ ।
‘के साइनोले बोलाउने ?’
जति कोशिस गरे नि बोली नझरेपछि अक्क न बक्क हेरिरहेँ ।
रात प¥यो ।
‘अन्त काँ जाने, बास माग्न ?’
उसले पनि ज्यादै असजिलो मानी, सायद । ‘डराएजस्तो न असजिलोेजस्तो’ बोलिरहेछ, उसको अनुहारले ।
‘हामी गरिप्गुर्बालई कल्ले हेला ग¥या’छैन र ? पुलिसले त्यसो ग¥यो भन्दैमा अर्कोसित लाग्नुपर्छ र ? अलबलै(बेकुसुरै) मुद्धा परेर ता कालापारे ता भा’थेँ ।’ मनमनै गनगन गरेँ ।
भित्रबाहिर गर्दै ती चिचिला आँखाले सोधिरहे, ‘आमा किन नबोलेको ?’
हेर्छु –सन्त्रासको भुमरीभित्र नजानिदोगरी फन्किरहेछ, उसको अनुहार ।
‘जार काटे कानुन नलाग्ने’ जमानाको कुरा हो । ठूलबालाई सम्झन्छु,, ‘पुरानो जोईसित सुकमदुखमका कुरा लाउँछु । बाटो काटेर के हर्नु(हिँड्नु), एकबारको जुनीमा तितेरी गरेर ?’
‘जात्रो(नराम्रो) नमाने है, ननिको मनले आ’होइन । संजोगैले भेट भो । फुपूलई खोज्दै आउँदा अक्करमा परेँ । … काँ’जाउँ, बास ।’ अगिनसम्म भन्छु भनी घाँटीसम्म झरिसके नि झर्न नमानेको बोली अनायास फुट्ट खस्यो ।
झस्की ।
आलुको थालबाट आँखा उठाएर एक्कैझल्को मलाई हेरी ।
उसको अनुहारले ‘यै भनी होला’ भनी मनमनै लख काट्छु, ‘पुरानो पोइको के गतिलो चाल होला ! छप्काउन आ’हो कि ?!’
धेरैबेरपछि मात्र सुस्तरीसुस्तरी असहजताबाट सहजतातिर मेलो लाग्न थाल्छ ।
‘राखेको रै’छ र भेट भो । नजाती कल्पेको भए तम्रो मंस(मासु) खानु ।’ उसको मुखबाट यस्तै झरेजस्तो कानमा खोर्लाङ्ग ग¥यो । सिंगानको सर्को तानेको आवाज मात्र झरिरह्यो बोली खसेनन् ।
भलाकुसारीको मेलो आफै लाग्न थाल्छ ।
नयाँ थिएनौं मात्रै ‘रिन्यू’ गर्न बाँकी । कुनै बेला पढिसकेका किताब थियौं । सायद यसैले होला, यताउति हेर्दै प्रश्न आफै झर्छ, ‘तम्रो पोइ काँ’छन् नि ?’ हट्दै गएको भयभावमा भन्छे, ‘उसैले जानोस् ।’
आफ्नो तर्फबाट कुराको बिट मारी । अर्थात् कुरा झिक्ने उसको पालोमा आलु काट्दै गरेको थाल कुनातिर लर्काएर उठी ।
निस्की, ‘जान्छु’ नै नभनी ।
घडी हेर्छु –पौनेनौ भइसकेछ ।
‘मान्छे ल्याएर मार्ने त होइन ?’ भातीभातीका तर्कना पिङ खेल्न थाल्छन् । दशपन्ध्रमिनेट नाघिसक्छ तर आए पो !
आत्तिएँ ।
ठूली छोरीलाई सोधेपछि फुरुङहुँदै भन्छे, ‘मासु ल्याउन ।’
केहीबेरमै ब्वाइलर कुखुरा ल्याई । काट्न आग्रही गरी ‘पाहुनाले काट्नुपर्ने’ हाम्रो परम्पराअनुसार ।
‘…!?’
‘जाँ बस्यो उई घर ।’
‘किन फुरमास ?’
‘कैली नआने पौना(पाहुना) आ’बेला आलुसत कसरी ख्वाम्ला ?’
दश पैसाको दाँत देखाएर, खिसिक्क हाँसी ।
कुखुरा काटेँ ।
भाङ्गाको डल्लाजस्तै तीनजना केटाकेटी फ¥याफुरुक गरिरहेछन् ।
‘कर्मै खोटो भएसी क्यै लाग्ने रै’नछ ?’ स्वाँक्क सिंगान तानी, ‘भट्टी चाँर्नै ठीक्क पोइ लबाकेकोको अत्तोपत्तो नलागेको अस्ति माघ दुई बर्षमा लाग्यो । घर, माइत त सुइना(सपना) भैगो, यस्ता चेचेमेमेसत के खुट्टाले जाने र ?’
मनको मान्छेलाईजसरी एकैसासमा दुखेसो खन्याई, भालेको आङमा तातो पानीसित ।
मासु पकाउन थाली ।
पाक्दापाक्दै सोध्छे –‘जाँर(जाँड) छा¥या ता छैनौ ?
‘आज नखाम् ।’
‘मेरो हातको नचल्ने भो र ?’
यति भनिनसक्दै कुनामा गई । एकैछिनमा स्टिलको गिलास जाँडले भरेर राखिदिई ।
‘ओहो ! यित्मस्त(यति धेरै) ! थाक्क्या बेला मात्तिजान्छु(मात्छु) ।’
‘खाल्चौ(खाइहाल्छौ), ढाँच्चा नपार, उइल ता …।’
जात्तिबित्ति गरेको करलाई नाईनास्ती गर्न सकिनँ ।
पहिलो गिलास रित्तियो । फेरि थपिदिई । फेरि रित्तियो । फेरि कर गरी ।
‘ऐ गाठ्यौ ! जाँर ख्वाएर जगाउने त होइन ? रंगढंग ता गतिलो छैन । भालेको निहँुमा गुन्डा डाक्या’छ कि ?’
नजाती शङ्का काट्छु ।
‘पैसा पर्ला भनेर डराउनु पर्दैन के ।’
फेरि कर गरी । पेट डम्म भयो । अगिपछि त यति खाँदा मान्छे पनि कीराजस्तै देख्थेँ तर आज ? केही भएको छैन, जिउ पनि छामेको छैन ।
‘किन सर्र्माएको ?’
भात थप्न नमानेपछि फेरि कर गरी ।
‘पुराना जोईपोइ भएर होला !’ यति भनेपछि हिमाचले कपालेले मुख छोपी ।
जुठा भाँडा सिहारी । कुचो लगाई । एककुनामा ओछ्यान लगाएर केटाकेटीलाई सुताई । अर्को कुनामा छुट्टै ओछ्यान लगाएर चुलोनेर आई अनि बिडी सल्काएर दिदै भनी, ‘हाम्रो त लहना नै रै’न छ ।’
कालापारे दिलबहार बिडीको सर्को तानिरहन्छु, नबोली ।
अत्यन्तै जरुरी समाचार सोध्न भुलेझैंगरी सोध्छे, ‘कर्म बनायौ ?’
‘ऐल हो र ?’
‘कति छन्, चेचेमेमे ?’
‘तिम्रै जति ।’
‘हँ !’
आश्चर्यको जिब्रो निकाली ।
उसले यसरी मनको कुरा गरेपछि मैले नि नढाँटौंजस्तो लाग्यो । कनौरे टोपी झिकेर पसिना पुछे र भनेँ, ‘बलै भन्छु बारे ।’
ऊ झस्की । ठानिहोली, ‘लोग्नेमान्छे हो, के रहन्थ्यो बिनाजोई त ।’ ढाटेकै सम्झेर होला, अँध्यारिई ।
केहीबेर नजानिदो सन्नाटा छायो ।
कहाँ बस्छौ ? के गर्छौ ? एकाएक प्रश्नका बिस्कुन फिंजाई ।
‘लद्दाखमा फौजीको राशन सार्छु ।’ ‘काशे काशे एकैनासे’ लागेर भन्नुपर्छजस्तो लाग्यो । भन्छु, ‘तमी पोइल गएकै साल बिहे गरेँ, कोटखाईमा, काम गर्न गएका घर्तीेगाउँकी । दुई बर्षजतिको बच्चा पनि थियो । एकरात छाप्रोमा आएर श्रीमतीलाई उठाएर लगे, मलाई बाँधेर । चिनकै दैलेखतिरका गोर्खाली हुन् । काँ भागे काँ । त्यै छोरा लिएर घर गएँ । गाउँमा झन जगजगी । माओवादीमा लाग्न पनि सकिनँ, छोरालाई घरमै छाडेर आएँ । दुई महिनापछि छोरो पनि मरेछ ।’
बोली गल्मते भइसकेथ्यो । लोग्नेमान्छे रुनुहुन्न भनेर मात्र थाम्दैथिएँ ।
‘गरिप्का शत्तुर गरिप् पनि हुँदारै’छन् । ‘अभागी खप्पर, ठक्करै ठक्कर’, विहे गरेको तीनमहिनामै जिम्दारले लगिदियो । मार्छु भन्दा भागेँ । एकरात गएर त्यसको स्याउको बुटा ढालेर भागेँ म त । अर्काको देशमा के गर्नु ? त्यै स्याउलाई …।’ अनायास जब्बर महसुस गरेँ, ‘अब यो पाजी गद्देको देशमा मरिकाट बस्दैन । फुपूफ्वाजुलाई पनि लिएर घर जाम्ला भनी कनौरबाट ।’
वाक्य पूरा भएन । कसैका श्रीमती या छोरी उठाएर अर्को ठाउँ भाग्ने कालापारेहरुको पुरानै संस्कृति हो ।
‘बरु उतै मर्ने, बाँच्ने भनेर भाग्दाभाग्दै म ता रित्तो भइसकेँ ।’ नेपालमा युद्धविराम नभए पनि म त अब एकछिनपनि बस्न नसक्ने भएको छु । भन्छु, ‘शान्त भे पनि नभे पनि उतै लरेर मर्ने । भागेर नमर्ने, रुपकला म ता …। अब तम् पनि हर, याँ बसेर क्यै हुन्न ।’ उसले मेरो मुखमा पुलुक्क हेरी, ‘घरमा बिपत्ता छ । माइला र काईलालाई सेनाले मारो, खारामा । भुराभुरी(बूढाबूढी) मात्रै छन् ।’
सन्नाटा छाइरह्यो ।
‘टमाटर लाउँछु । फेर्ने फर्काउने र रक्सीपानीले गर्छु ।’ धेरैबेरपछि आफैले भनी आफ्नो कुरा, ‘जाँ लैजाला कर्मले उई ।’
जोवनबाटोमा बिझेका टिमुरका काँडा सकेसम्म उसले लुकाउन कोशिस गरिरही । ती काँडा गाउँघरको संचोबेसंचोले छोप्न मेलैसित असफल प्रयास थाल्छे, एकोहोरो प्रश्नका एम्बुस थाप्दै ।
‘थुमा भैसीको दुध कति छ ?’
‘लाइलक्षिमी कति छन् ?’
‘डेराबाराका ?’
‘रामसरा भालुवाङमा मारिई, खारामा दिलु, अर्घाखाँचीमा …।’ सुनेको आधारमा भन्छु ।
‘कठै’ भनेर ओठ टोकी ।
‘मेरो माइतीदेशतिर…’
कपालेको फुर्को टोकेर पुलुक्क मेरो अनुहारमा हेर्छे ।
‘सेनाले सोत्तरै पारो नि, फुच्चेहरु कान्छा मामाकहाँ बस्छन् । तम्रो माइतमा त बिजोग छ ।’
‘कठै बरै नि !’ ‘पुलिससेना’ सुन्नेबित्तिकै अनुहार अनायास मडारियो ।
सन्नाटा छायो । धेरैबेरपछि सन्नाटा चिर्छु, ‘कहिले फर्कन्छौ ?’
बर्खामासको आकाशझै काली भई ।
‘के खुट्टाले जाने र ?’
लामो सास फेरी । अलिकति पानी पिई अनि भनी, ‘काँ’छ र जाने ठाउँ ?’ खुट्टाको औलाले भुईं कोट्याउन थाली, ‘घरवारी बन्धक छ । निखन्ने पैसा कमाउने पोइको चाला यस्तो छ । न माइती मेरा …माइतीदेशको तिर्खाले घाँटी सुके नि उडी जाउँ पंखी छैन, गुडी जाउँ पैसा छैन ।’
धेरैबेरसम्म सिंगानको सर्को तानेको साक्कसुक्कका मात्र झरे, बोली झरेनन् ।
कालापार, खेपघाटले नै ढकलगुजारा चलेको मेरो घर । २०५० को थुनिकोटमेलामा काग्रेस–जनमोर्चा लडे । राजनीतिक नजान्ने मजस्तो गौप्राणीलाई पनि मुद्धाको बिला लाग्यो । मुद्धा लागेका कि जंगल पसे कि कालापार । बाबासहित तीनैभाइ हामी तितरबितर भयौं । घरमा आइमाई मात्र थिए ।
बिहेको भएको महिना लाग्दैथियो ।
मुद्धा पनि खापिएर कालापारे भएँ । ‘लेकिन लाहुेर’ भएको ४ बर्षपछि रुपकला अर्कैसँग हिँडी ।
अर्को मनले सोच्छु, ‘हामी गरिप्गुर्बालई जोईसित सधैं टाँस्सिन काँ’लेख्या छ र ? मजस्तै ‘रोटी र मुद्धा’ अनि पछि बस्न नसकेर कालापारे भा’छन् । के जम्मैको पोइल गा’छन् र ?’ मनमनै गनगन गरेर बाहिर निस्कन्छु, ‘तर रुपकला !’
जाँडको रहलपहल अलिअलि मात्र बाँकी छ ।
भित्र आउँछु । सम्हाल्दासम्हाल्दै प्रश्न झर्छ, ‘के कमि थो र छारिउ मलाई ?’
उत्तर फर्काउनुको साटो कुनातिर फर्की । स्वाँक्कस्वाँक्क थाली ।
‘आइमाईको हतियार नै आँसु’ भन्छन्, एकमनले भन्छु ।
दशैमा माइत गएकी रहिछ । रुकुमकोटबाट पुलिस अप्रेसन गर्न आएछन् । गाउँमा बूढाखाडा र आइमाई मात्र भेटेछ । रुपकलालगायत गाउँका ६ जनालाई बलात्कार गरेछन् । ‘मरी’ भनी फालेछन् ।
‘घरले कसरी स्वीकार्ला’ भनेर एकदिनको बाटो फुपूघर लागिछ ।
‘बन्नुकेले मार्छ भनेपछि’ भनेर गाउँलेले कुरा लुकाए नि ‘बिटुलिएको’ एकदिन खुल्ने थियो । तम्रो के भर ? बरु ‘टाढै’को ‘कालापारे झिल्के’सँग लागेँ, दायाबाया नहेरी ।’
आँसुले आफ्नै कहानी निप्ट्याई ।
भक्कानिई ।
रात ढलिसकेको छ । आँखा पिरापिरा हुन थाले । आँसुले अनुहार टाटेपाटे । कपालेले आँसु पनि नपुछी बाहिर निस्की ।
थक्कथक्क लाग्छ, कमसेकम भन्नुपथ्र्यो, ‘अब आउने कुरा सोच –छोराछोरीका । ‘हिजो’ सम्झेर आँसु नखर्च ।’
सकिन । मेरो पनि मन भिजिसकेछ । खेतको गराझै चर्चरी मन फाट्यो ।
‘लुटिएकी चेलीलाई लत्याउने के म अधर्मी लोग्नेमान्छे थिएँ र ?’ सोझो मनको यही यक्षप्रश्न थियो मनमा अल्झिरहेको ।
‘पाखा’ जाँदा(दिसापिसाब जाँदा) ढेला(ढोका) यता छ ।’ भित्र पस्दै मेरो लागि वल्लो कुनातिरको ओछ्यान देखाउँदै आफू बच्चाहरुसित सुत्न पल्लो कुना गई ।
ओछ्यानमा पल्टन्छु ।
ऊ निदाई या नाई ? तर आँखामा जिन्दगीको कुनै घुम्तीमा ऊसँगै काटेका देउराली आएर निद्रालाई नेटोपारि छेकिरहे । सम्झनाको ऐनाबाट जुलुस आइरहे, पहिलोबार मेलापात गएको, बर्खामा भिज्दै ग्वाला गएको, काफल खाएको, च्याउ टिप्न लेक गएको, कहिले ठाकठुक परेको ….! केही तीता केही मीठा, तर सबै संस्मरणमय पल ।
आफैलाई नि अचम्म लागिरह्यो, ‘अर्काकी भइसके नि किन यति धेरै माया लागेको !?’
जातीनजाती तर्कना मनमा लेकबेसी गरिरहे ।
‘मामा !’
बच्चीको आवाजले झस्कन्छु । सिरक हटाउँछु –उज्यालो पनि बासी भइसकेछ ।
निस्कन्छु –घाम त आधाबाटो झरिसकेछन् ।
‘घर कहिले जान्छौ ?’ हिँड्नेबेला आधाबाटोसम्म आई ।
‘मंसिरतिर ता होला ।’
‘मीठाई लगिदेऊ’ भनी दिएको सय रुपैया बल्लबल्ल राखी । पर…गइसकेपछि दौडदै आई, कुनै जरुरी चिज भुलेजसरी, ‘कसैले सोधे, जे भे नि ‘निकै छ’ भन्दिए है !’
न ‘हुन्छ’ भन्छु न ‘हुन्न ।’ जबाफै नपर्खेर हिँडी । नेटो नकाटुञ्जेल हेरिरहेँ ।
थाहा छैन, कतिखेर बाटो लागेँ –फुपू फुफाजुकहाँ जान सोलनबजारतिर ।
सोलन–रोहडू बस चढ्छु ।
गुड्न थाल्छ ।
‘रुपकलासँग घरजम !’ गाडीसँगै दुईवटा बाटोमा मन गुड्न थाल्छ, ‘छाडेकी जोई’ समाजले के भन्ला ?’
‘को हो र समाज ?’ ठाडै अस्वीकार ग¥यो अर्को मनले ।
हण्डरठक्कर खाएकाबीच फेरि नयाँ जीवनको थालनीको लागि एकवचन सोध्नुपर्छजस्तो लाग्यो । ‘चिठीमा पढेको नयाँ नेपाल’ बनाउन आफ्नै मुलुक फर्कनु पर्छ भन्ने मन एक्कासी उर्लेर आयो । थाम्नै सकिनँ, चिच्याएँछु, ‘जी ! रुको जी, गाडी रुको ।’